नेपालबाट थप २०० मेगावाट विद्युत् निर्यातका लागि भारतको सहमति

भूगाेल संवाददाता
२८ श्रावण २०८२, मंगलवार ११:३४

हेटौंडा। भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यसअघि अनुमति प्राप्त ८१०.९ मेवामा थप २०० मेगावाट निर्यात गर्न सहमति दिएको छ । अब नेपालबाट यस अघि अनुमति प्राप्त ८१०.९ मेवामा र थप २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ । बङ्गलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । पछिल्लो पटक श्रावण २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि रहेको छ । यस अन्तर्गत लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् निर्यात हुने छ । आर्थिक वर्ष २०८१/०८२ मा नेपालबाट १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । त्यसमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतिले चालु आर्थिक वर्षमा निर्यात दोब्बर हुने अनुमान प्राधिकरणले गरेको छ ।