ग्रिस डुंङ्गा दुर्घटनामा ३ सय जनाबढी पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि

एजेन्सी। केही दिनअघि ग्रिसको तटमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा दजर्नौंको ज्यान गएको छ भने सयौँ बेपत्ता भएका छन् । सिरिया, इजिप्ट, प्यालेस्टाइन क्षेत्र र पाकिस्तानका ७५० भन्दा बढी पुरुष, महिला र बालबालिका उक्त डुङ्गामा रहेका थिए ।
युरोप पुग्न सानो डुङ्गामा चढेकामध्ये ५०० बढीको मृत्यु भएको अनुमान गरिएको छ भने बाँकी धेरै बेपत्ता भएका छन् ।
पाकिस्तानको सिनेटका अध्यक्ष मुहम्मद सादिक संजरानीले आइतबार एक विज्ञप्तिमा मृत्यु हुनेमा ३०० बढी आफ्नो देशका नागरिक भएको बताएका छन् । उनले शोकमा परेका मृतकका परिवारहरूप्रति समवेदना व्यक्त गरेका छन् ।
सयौंको ज्यान जाने गरी १४ जुनमा डुङ्गा पल्टिँदा भएको यो घटनालाई संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सी ९आईओएम०ले भूमध्यसागरमा भएको सबैभन्दा खराब त्रासदीमध्येको एक भनेको छ ।
आर्थिक संकटग्रस्त विभिन्न देशका नागरिकहरु सुनौलो भविष्यको खोजीमा युरोपका विभिन्न मुलुकहरु जान र अमेरिका जान समेत अवैध मार्ग र जटिल बाटो प्रयोग गर्छन् ।
यसरी युरोप प्रवेश गर्न खोजेपछि त्यहाँबाट उनीहरुप्रति हुने व्यवहारमाथि पनि शंका बढ्दै गएको छ । यो दुर्घटनामा समेत द्रुत प्रतिक्रिया नगरिएको भन्दै ग्रिक अधिकारीहरुको आलोचना भएको छ ।
डुङ्गामा आफ्ना तीनजना आफन्त रहेका तारेक अल्ड्रोबीले ग्रिक नौसेनाले तान्न खोज्दा डुङ्गा पल्टिएको आरोप लगाएका छन् ।
‘डुङ्गा राम्रो अवस्थामा थियो । ग्रिक नौसेनाले तिनीहरूलाई समुद्री तटमा तान्न खोज्यो तर डोरीहरू गलत ठाउँमा बाँधिएका थिए,’ सीएनएनसँग उनले भनेका छन्, ‘जब ग्रिक नौसेनाले तिनीहरूलाई तान्न खोज्यो, त्यतिबेला डुङ्गा पल्टियो ।’ तर, नौसेनाले भने त्यतिबेला सेना डुङ्गा नजिक नै नभएको भन्दै आफ्नो बचाउ गरेको छ ।
युरोपेलीहरुले आप्रवासीप्रति देखाउने मनोवृत्तिबारे समेत प्रश्न उठ्न थालेको छ । धेरै युरोपेली देशले आफ्ना सिमाना र आप्रवासीप्रतिको अडान कडा बनाएका छन् ।
युरोपियन युनियनले सामना गर्ने शरणार्थी संकटलाई उजागर गर्ने पछिल्लो त्रासदी यो घटना बनेको छ ।