नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्‍याएरमात्रै सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र

भूगाेल संवाददाता
१० असार २०८०, आईतवार १६:०२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्‍याएरमात्रै सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र गरेको छ ।

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ गत जेठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको त्यही ऐन र नियमावली बमोजिम प्रक्रिया पूरा गरेर मात्रै सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो । नागरिक अनुसूचीमात्रै भरेर आउने गरेको र आवश्यक कागजात नहुँदा दुःख पाउने अवस्था देखिएको भन्दै कार्यालयले परिपत्र गरेको हो ।

काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले भन्नुभयो, “नागरिकले आवश्यक सम्पूर्ण कागपत्र नल्याउँदा दुःख पाएका छन्, सबै कागजात पूरा गरी वडा सिफारिस भयो भने सजिलो हुन्छ ।”

कार्यालयले जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई वंशजका आधारमा सिफारिस गर्दा बाबु र आमा नेपाली नागरिक भएको र उनको बसोबास नेपालभित्र रहेको यकिन गर्न पनि भनेको छ । जसका लागि बाबुआमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, जग्गाधनी प्रमाणपुर्जा ९निवेदकको बाबुआमा नाम भएको ) शैक्षिक प्रमाणपत्र, घरधनी दर्ता प्रमाणपूर्जा, बसाइँसराइ दर्ता प्रमाणपत्र (ठेगाना परिवर्तन गर्न चाहेमा) स्थायी बसोबास प्रमाणपत्र, बाबुआमाको विवाह दर्ता र पारिवारिक विवरण, बाबुआमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए त्यसको निस्सासमेत संलग्न गराउन उल्लेख गरिएको छ ।

परिपत्रमा कार्यालयबाट आवश्यताअनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्कासमेत गरिने हुँदा त्यो व्यहोरालाई पुष्टि गर्ने अन्य कागजात पनि समावेश गर्न परिपत्रमा उल्लेख छ । रासस