कैलालीमा घडियाल गोहीले प्राकृतिक रुपमा बच्चा कोरल्यो
धनगढी। कैलालीमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो । यो दोभान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ । डल्फिन क्षेत्र पर्ने यो ठाउँमा यसअघि घडियालले बच्चा कोरलेको थिएन ।
गोहीले करिब ३५ वटासम्म बच्चा कोरलेको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४० वटासम्म अण्डा रहेकोमा पाँच वटा असफल भएको छ । बाँकी सबै अण्डाबाट बच्चा निस्केका छन् ।
“गुँडमा भेटिएको पाँच वटा अण्डाबाट बच्चा निस्केका छैनन्”, डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनु भएका ढुङ्गानाले भन्नुभयो,“ती अण्डाहरू सायद बिग्रेको हुनुपर्छ ।”
बच्चा कोरलेको माउ घडियाल गोही नदीमा केही दिनदेखि बच्चासहित देखा परिरहेको छ । पानीमा माउमाथि बच्चा चढेको देखिन्छन् । यसअघि, पुसमा देखिएको घडियाल गोही एकैचोटी असारमा बच्चासहित देखा परेको ढुङ्गानाले जानकारी दिनुभयो ।