मुख्यमन्त्री जम्मकटेललाई भेट्न पुगे सांसद बानियाँसहित मनहरीका जनप्रतिनिधि

पालिका र निकुन्जबीचको द्वन्द्व अन्त्य गर्न माग
भूगाेल संवाददाता
२७ बैशाख २०८०, बुधबार १६:४०

हेटौंडा । मनहरी गाउँपालिकाका जनप्रतिनिधि र प्रदेश सांसद इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलसंग भेट गरेका छन् । भेटमा उनीहरुले गाउँपालिकाको दक्षिणी क्षेत्रमा बसोबास गरिरहेका भूमिहिन दलित र सुकुम्बासीहरुलाई सोही स्थानमै बसोबासको व्यवस्था गर्न माग गरेका छन् ।

गाउँपालिकाले हालसम्म ७ सय ३७ जना भूमिहिन दलित र सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिसकेको छ । उक्त खबर पाएलगतै पर्सा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्सा वितरण रोक्न पत्र पठाएपछि त्यसको विकल्प खोज्न जनप्रतिनिधिहरु मुख्यमन्त्री भेट्न पुगेका हुन् ।

गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले पालिकाको ७५ प्रतिशत जनसंख्या ५० औं वर्षदेखि संरक्षित क्षेत्र वरिपरि बसोबास रहेको र उनीहरु सोही क्षेत्रमै बसोबास गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न निस्सा वितरण गरिएको जानकारी दिनुभयो । निस्सा वितरण गरेको खबर पाए लगत्तै निकुञ्जले उक्त कार्य रोक्न पत्र काटेपछि त्यसको विकल्प खोज्न मुख्यमन्त्री समक्ष भेट गरिएको उहाँको भनाई छ ।

भेटमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का सांसद इन्द्रबहादुर बानियाँले निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट वर्षौदेखि पिडित जनतालाई निकास दिनुपर्ने बताउनुभयो । “जनताले ढलेका रुखको दाउरा ल्याउन पाउँदैनन्, घाँस काट्न पाउँदैनन्, घर बनाउन ढुंगा समेत ल्याउन दिदैनन्, उहाँले भन्नुभयो ।” सांसद बानियाँले निकुञ्ज र पालिकाबीचको द्वन्द्वले त्यस क्षेत्रमा विकास गर्न नसकिएको जिकिर गर्नुभयो ।

जनप्रनिनिधिको गुनासो सुनिसकेपछि मुख्यमन्त्री जम्मकटेलले उक्त क्षेत्र संरक्षित क्षेत्रभित्रै पर्ने भएकाले ऐन संशोधन नभएसम्म समस्या समाधानमा कठिनाई रहेको बताउनुभयो । उहाँले संघिय सरकारबाटै ऐन संशोधन भएर आउनुपर्ने र त्यसका लागि प्रदेश सरकार र आफ्नो तर्फबाट पहलकदमी लिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटमा मनहरी गाउँपालिकाका सबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । गाउँपालिकामा रहेको ९ वटै वडा बसोबास गर्ने दक्षिणी क्षेत्रका जनता निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट पिडित छन् । हरेक वर्ष त्यहाँ बन्यजन्तुले खेतीपातीको नोक्सानी गर्नेदेखि मानवीय क्षति समेत गर्ने गरेको छ । केहि समयअघि मात्रै हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*