विद्यालय बिदा गर्ने कम्पिटिसनमा मकवानपुरका स्थानीय तहहरु

भूगाेल संवाददाता
२१ जेष्ठ २०८०, आईतवार १७:२४

हेटौंडा । मकवानपुरमा बढ्दो गर्मीसंगै विभिन्न वडा हुँदै पालिकादेखि उपमहानगरपालिकासम्म अहिले विद्यालय बिदा गर्न को पहिला सूचना जारी गर्ने भन्ने प्रतिष्पर्धामा उत्रिएका छन । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ ले गर्मीका कारण वडाभित्रका विद्यालय बिदा गर्ने निर्णय गरेर सबैभन्दा अग्रपंक्तिमा नाम लेखाए भन्ठानेका थिए तर, बकैया गाउँपालिकाले शुक्रबार नै निर्णय गरी आइतबारदेखि लागूहुने गरी बिदा दिने निर्णय गरिसकेको यि दुई वडाले निकायहरुले पत्तै पाएनन् । फेरी, शनिबार साँझ आकस्मिक रुपमा हेटौंडा उपमहानगरपालिकाको कार्यक्षेत्रभित्र रहेका सामुदायिकदेखि संस्थागत विद्यालयहरुमा आइतबारदेखि शुक्रबारसम्म बिदा दिइएको छ । त्यसपछि सुरु भयो , बिदाको लहड । शनिबार दिनभरी जसो सामाजिक सञ्जालहरु बिदाका सूचनाले भरिभराउ रहे । कसले सबैभन्दा पहिला निर्णय गरेर प्रचारबाजी गर्ने जस्तो प्रतिस्पर्धा देखियो सामाजिक सन्जालतिर । त्यसपछि सुरु भयो राक्सिराङ गाउँपालिका, मकवानपुरगढी गाउँपालिका लगायत गाउँपालिका र हेटौंडा उपमहानगरपालिका ।

मनहरी गाउँपालिका आइतबारदेखि बिहान पढाउने भनेर शुक्रबार नै निर्णय गरेको थियो , तर अभिभावक र विद्यालयको अवस्था अनुसार विहान पढाउन संभावना नदेखिएकाले आइतबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरिएको अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । कैलाश गाउँपालिकाले पनि अत्याधिक गर्मी बढेका कारण सोमबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिनुभयो । बागमती गाउँपालिकामा भने आज (आइतबार) पठनपाठन भएको छ । सबै पालिकाले भटाभट बिदा दिएसंगै बागमतीलाई पनि त्यसको प्रत्यक्ष प्रभावले छुन थालिसकेको छ । उक्त प्रभावकै कारण विद्यालय बिदा दिने संभावना प्रबल भएको पालिका अध्यक्ष सर्केश घलानले बताउनुभयो ।

यता भीमफेदी गाउँपालिकाले भने अरु गाउँपालिका जस्तो गर्मीसंग प्रभावित नभएको भन्दै विद्यालयले आफ्नो अवस्था अनुसार बिदा गर्न सक्ने अधिकार प्रदान गरिएको अध्यक्ष हिदम लामाले बताउनुभयो ।

यता, मकवानपुरका दुई स्थानीय तह मात्र गर्मीबाट बच्न सफल भएका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा रहेका थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा गर्मीले कुनै प्रभाव नपरेको बताइएको छ । भौगोलिक हिसाबले उच्च भागमा रहेको यो दुई पालिकामा मौसम अनुकुल रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको प्रमुखहरुले जानकारी दिएका छन् ।

यस्तै केहिदिनदेखि बढेको अत्याधिक गर्मीले विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिएको भन्दै हेटौंडा उपमहानगरपालिकाले शनिबार आकस्मिक निर्णय गरेर आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द गर्न आग्रह गरेको छ । उपमहानगरपालिकाले आकस्मिक विद्यालय बन्दको निर्णय गर्दा शिक्षक र विद्यार्थीहरुमा थप अन्यौलता छाएको मुन लाईट इन्टरनेशनल स्कुलका कोर्डिनेटर भरत सापकोटा बताउहुन्छ । उहाँ भन्नुहुन्छ– “बिदा नै विकल्प होइन, गर्मी त हरेक वर्ष आउने गर्छ, विद्यालयलाई वातावरण अनुकुलित बनाउदै लानु सरकारको कतव्र्य हो, न कि बन्द गर्नु ।”उहाँले विद्यार्थीलाई घरमै राख्दा पनि शितल नहुने बताउँदै प्रतिकुल विद्यालयहरुलाई सुधार गरी पठनपाठनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उपहानगरपालिकाले वडाको अवस्थाअनुसार विद्यालय बन्द गर्न अनुमति दिएपनि शैक्षिक क्यालेण्डर एउटै हुँदा पठन पाठन (कोर्ष) मा समस्या पर्ने भएकाले सबै विद्यालय बन्द गर्नुपरेको नेपाल शिक्षक महासंघका अध्यक्ष जिधराज ढकालले बताउनुभयो । बजार क्षेत्रमा रहेका भौतिक सम्पन्न विद्यालयलाई खासै समस्या नदेखिएपनि ग्रामीण क्षेत्रले छोएका विद्यालयहरुमा भौतिक पूर्वाधारकै हिसाबले समस्यालाई मनन गर्दै उपमहानगरपालिकाले यो निर्णय लिएको उहाँको भनाई छ ।

पहिले बैशाखदेखि असारसम्म गर्मीकै कारणलाई मध्यनजर गर्दै विद्यालयहरु विहान सञ्चालन हुने गरिन्थ्यो । विद्यालयहरु भौतिक पूर्वाधारले सम्पन्न भएको भन्दै राज्यले नै दिउँसो पढाउने नीति बनायो । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल भन्नुहुन्छ –“हामी नीतिगत रुपमा नै जाने हो, राज्यले जस्तो नीति, विधि बनायो, शिक्षक सोही अनुसार चल्दछ । यदी गर्मी महिनामा राज्यले नै बिहान पठनपाठन गर्छ भने हामी पढाउन तयार छौ ।”

अत्याधिक गर्मी बढेसंगै विद्यार्थीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएपछि विद्यालय बन्द गर्ने सुझाब दिइएको बताउनुहुन्छ, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा । उहाँ भन्नुहुन्छ – “जस्ताको छानोमूनि राखेर विद्यार्थी पढाउन पाइदैन, स्थानीय सरकारले विकासका नाममा बाटो मात्र बनाउने होइन , शिक्षा र स्वास्थ्य पहिला बनाउनुपर्छ ।”

दिनानुदिन बढेको गर्मीमा विद्यालय बिदा दिने सन्दर्भमा आफुहरुसंग कुनै सल्लाह, सुझाब नमागिएको गुनासो गर्नुहुन्छ सामुदायिक विद्यालयतर्फका नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष धु्रब प्रसाद चौलागाई । विपतका समयमा विद्यालय बिदा दिनु उचित रहेतापनि आगामी दिनमा स्थानीय तहले यस्ता निर्णय कसैको दबाब र प्रभावमा नपरी आफैं लिन सक्ने हुनुपर्ने उहाँले बताउनुभयो । “४ र ५ नम्बर वडाले शनिबार दिउँसै बिद्यालय बिदा गर्ने निर्णय गरिसकेको थियो, त्यसैको सिको भनौं या केहि व्यक्तिको दबाब र प्रभावमा उपमहानगरपालिकाले त्यहि दिन बेलुका हतार हतारले निर्णय गरेको छ । यस्तो हर्कतले स्थानीय तह निर्णय क्षमतामा कमजोर भएको मैले ठान्दछु ।”

हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले भने सबैतिरबाट दबाब आएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको जिकिर गर्नुभयो । तर, गर्मीकै कारण विद्यालय विदा गर्ने विषय विकल्प नभएतापनि विपतको समय यस्तो निर्णय लिनु उचित रहेको उहाँको भनाई छ । उहाँले विहानी पठनपाठन गर्न सक्ने स्थिती रहेतापनि कहिकतैबाट यस्ता सुझाब नआएको बताउनुभयो ।

अत्याधिक गर्मीका कारण विद्यार्थीहरुमा टाउको दुख्ने, वान्ता हुने, रिंगटा लाग्ने जस्ता विभिन्न स्वास्थ्य समस्या देखिएपछि शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरुको आग्रहमा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न आग्रह गरेको हो । वर्षे विदा कट्टा हुने गरी बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*