भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक, ९ जना पक्राउ

भूगाेल संवाददाता
३ फाल्गुन २०८०, बिहीबार १६:४२

काठमाडौं । भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् ।

प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ ।

भारतबाट अमेरिका पठाइदिन्छु भनी काठमाडौंको एक घरमा ल्याएर राखी उनीहरुको परिवारका सदस्यबाट थप पैसा मगाउन लगाउने र नपठाएमा कुटपिट र यातना दिने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्ने भारतीय नागरिकमा इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा छन् । नेपाली नागरिकको भने नाम खुलाइएको छैन । नेपाली नागरिकले भने उनीहरुलाई नक्कली कागजात बनाएर सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो प्रकरणको मुख्य योजनाकार इन्द्रसिंह यादव हुन् ।

उनीहरुले मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरु देखाएर बन्धक बनाइएकाहरुलाई परिवारबाट थप पैसा मगाउन लगाएको पाइएको प्रहरीको भनाइ छ ।

अमेरिका पठाउन एक जनाको ४० लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।