मकवानपुरमा सोमबार साँझ भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा बालकसहित तीन जना घाइते भएका छन्। दुर्घटना इन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकामा भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इन्द्रसरोवर गाउँपालिका–४ स्याउलीबजारमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्। फाखेल–हुमाने सडकखण्डमा पुरण्डीबाट राकसखोला तर्फ जाँदै गरेको बा ३१ प ४४०० नम्बरको मोटरसाइकल ओरालोमा अनियन्त्रित भई सडकको बायाँतर्फको नालीमा खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक इन्द्रसरोवर–४ राकसखोला निवासी ५५ वर्षीय रामबहादुर गोले र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया सङ्गीता गोले घाइते भएका छन्। दुवै जनाको दाहिने खुट्टा, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नान्तीराज गुरुङले जानकारी दिए। उनीहरूको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी फाखेलको नियन्त्रणमा राखिएको छ।
यसैगरी मनहरी गाउँपालिका–८ भलादमी चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक बालक घाइते भएका छन्। ज्यामिरेबाट मनहरीतर्फ आउँदै गरेको ना २ ह ५०७१ नम्बरको अटोलाई सोही दिशाबाट पछाडि आउँदै गरेको प्रदेश २–०३–०१२ प ८७६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा अटोमा सवार मनहरी–९ ज्यामिरेका ७ वर्षीय आवास प्रजा घाइते भएका छन्। उनलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनस्थित पुष्पाञ्जली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले अटो चालक मनहरी–९ ज्यामिरे निवासी ३८ वर्षीय रामशरण मोक्तानलाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि मोटरसाइकल चालक भने घटनास्थलमै सवारी छाडेर फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


