मकवानपुर खुल्ला डबल्स ब्याड्मिन्टन: बीरु–चेतनको जित

भूगाेल संवाददाता
१ चैत्र २०८२, आईतवार ०७:११

हेटौंडा/हेटौंडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत भएको मकवानपुर जिल्लास्तरीय खुल्ला डबल्स ब्याड्मिन्टन प्रतियोगिताको उपाधि हेटौंडा–५ का बीरु गुरुङ र चेतन विश्वकर्माको जोडीले जितेका छन्।

शनिबार हेटौंडा–११ थानाभर्याङस्थित ब्याड्मिन्टन एकेडेमीको कभर्ड हलमा सम्पन्न फाइनल खेलमा गुरुङ–विश्वकर्माको जोडी उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेको हो। प्रतियोगितामा हेटौंडा–१० का राम थापा मगर र महेश बोहोराको जोडी उपविजेता बने।

त्यस्तै, अजय बजागाईं (हेटौंडा–५) र नितिन थापा (हेटौंडा–११) को जोडी तेस्रो स्थानमा रहँदा भीमफेदी गाउँपालिकाका भोजराज जोशी र सुमन अर्यालको जोडी सान्त्वना स्थानमा सीमित भयो।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित बीरु गुरुङले नगद २ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे। विजेता टोलीले नगद २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने टोलीले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

विजेता खेलाडीहरूलाई हेटौंडा–१० स्थित टिसिएन चौरमा आयोजित महोत्सवस्थलमा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले पुरस्कार प्रदान गरेका थिए।

मकवानपुर जिल्ला ब्याड्मिन्टन संघको सहकार्यमा शुक्रबार सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो। महोत्सव अन्तर्गत आगामी दिनमा कराँते, तेक्वान्दो, भलिबल लगायतका अन्य खेलकुद प्रतियोगिताहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।